५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
पाँच महिनामा ७० जनाको गयो ज्यान : चुनौती बन्दै चट्याङ - Aksha Rekha
ताजा समाचारदेशमुख्य समाचार

पाँच महिनामा ७० जनाको गयो ज्यान : चुनौती बन्दै चट्याङ

काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका–११ आहालडाँडा अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन असोज ४ गते घरमा बसिरहेका वेला परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीका अनुसार चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मर्‍यो ।

असोज ५ गते धादिङ जिल्लाको खनियाबास गाउँपालिका-२ कोखिमका एक १७ वर्षीय किशोरको चट्याङ लाग्दा मृत्यु भयो । यी घटना केही उदाहरणमात्र हुन्। प्राकृतिक विपद्का घटनामा अहिले सबैभन्दा बढी जोखिमपूर्ण चट्याङ देखिएको छ। कहिले चट्याङका कारण मानिसको ज्यान गइरहेको छ भने कहिले घरपालुवा जनावर मरिरहेका छन् ।

आकाशमा बादल गड्याङगुडुङ गरेर गर्जिँदा हिजोआज सर्वसाधारण तर्सन थालेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख १ देखि असोज ५ गतेसम्म चट्याङबाट २ सय १६ घटना भएका छन् । ती घटनामा ७० जनाको मृत्यु भएको छ भने १ सय ९२ जना घाइते भएका छन् र ३ सय २८ घर प्रभावित भएका छन् ।

के हो चट्याङ, कसरी लाग्छ ?

चट्याङविज्ञ श्रीराम शर्माका अनुसार चट्याङ भनेको हाम्रो वायुमण्डलमा जब विद्युतीय चार्जको असन्तुलन हुन्छ, एक ठाउँबाट अर्को ठाउँमा विद्युतीय चार्जको प्रवाहलाई चट्याङ परेको भनेर बुझ्नुपर्छ, यो विद्युतीय करेन्ट हो । घरमा जडान गरिएका तारमा प्रवाह हुने विद्युतीय करेन्ट जस्तै हो यो चट्याङको विद्युत प्रवाह पनि ।

‘घरमा जुन करेन्ट बिजुली बत्ती बाल्न, खाना पकाउन प्रयोग गर्छौ‚ त्यस्तै नै हो चट्याङको विद्युत पनि। बत्तीमा सजिलो बाटो दिन्छौँ, तारमा बगेको देखिँदैन, एकैचोटी हिटर र बल्बमा बलेको देखिन्छ। जहाँ बढी अवरोध हुन्छ, त्यहाँ ताप उत्पन्न हुन्छ, हिटरको क्वायलमा ताप उत्पन्न हुन्छ, बल्बमा ऊर्जा निस्किन्छ,’ उनले भने ।

उनले ठूलो मात्राको विद्युत वायुमण्डलमा बग्ने बताए। ‘वायुमण्डलको अवरोधलाई चिरेर जमिनमा करेन्ट आइपुग्छ, त्यसलाई चट्याङ भन्छौँ, यसको मात्र औसत हेर्ने हो भने ३० किलो एम्पिएर अर्थात ३० हजार एम्पिएर हुन्छ, घरमा प्रयोग हुनेमा लगभग १५ एम्पिएर हुन्छ,’ उनले तुलना गर्दै भने । सामान्यतया चट्याङमा १ करोड भोल्टदेखि १ अर्ब भोल्टसम्म विद्युत प्रवाह हुन सक्छ ।

शहरभन्दा गाउँघरमा बढी चट्याङ

पछिल्लोसमय शहरी क्षेत्रभन्दा गाउँघरमा चट्याङ धेरै परिरहेको छ तर यसको छुट्टै कारण रहेको चट्याङविज्ञ शर्मा बताउँछन् । ‘चट्याङको दुई मुख्य सिजन हुन्छ, एउटा वैशाख र जेठ अनि अर्को भदौ महिनामा पर्छ,’ उनले भने, ‘अत्यधिक मात्रामा वैशाख-जेठमा पर्छ, असार-साउनमा बादल भए पनि अलिक कम चट्याङ पर्ने सम्भावना हुन्छ ।’

उनका अनुसार हिमाली क्षेत्रमा चट्याङ थोरै पर्छ भने पहाडी क्षेत्रमा बढी पर्ने गरेको छ। ‘चट्याङ जहाँ पनि पर्न सक्छ, तर बच्ने संरचनाको हिसाबले बजारका पक्की घर सुरक्षित मानिन्छन्। गाउँघरमा फलामका रड प्रयोग गरेर बनाएका घर कमै हुन्छन्, गाउँमा त्यसैले घरभित्र पनि चट्याङका कारण मृत्यु हुने गर्छ,’ उनले कारण खुलाए ।

उनले शहरी क्षेत्रमा चट्याङ कम लाग्नुको अर्को कारणमा बजारका मानिस धेरैजसो घरभित्रै बढी क्रियाकलाप गर्ने गरेको उल्लेख गरे। उनले भने, ‘गाउँघरमा बढी काम घरबाहिर हुन्छ- गाईवस्तु चराउने, खेतमा काम गर्ने बढी हुन्छ, खुला मैदान, ठूला रुखमा ओत लाग्दा चट्याङ लागेको पाइन्छ ।’

सुरक्षित हुने उपाय यस्ता छन्

चट्याङविज्ञ शर्माका अनुसार चट्याङ पर्न पहिला बादल चाहिन्छ। मौसमको हिसाबले झरी परेको वेला चट्याङ पर्ने सम्भावना थोरै हुन्छ भने घरी पानी पर्ने, घरी पानी रोकिने वेला चट्याङ धेरै पर्ने सम्भावना रहन्छ । ‘बादल बन्दै गर्दा आज चाहीँ पानी पर्ने, चट्याङ लाग्ने सम्भावना छ भनेर पहिलै हामी पूर्वअनुमान गर्न सक्छौँ,’ उनले भने, ‘यसको आधारमा हामीले सुरक्षित स्थान खोज्नुपर्छ ।’

उनका अनुसार नेपालमा सामान्यतया पहाडी भूभागमा दिउँसोको २ बजेपछि चट्याङ पर्न शुरु हुने देखिन्छ। अपराह्न ४ बजेदेखि साँझ ६ बजेको बीचमा भने अत्यधिक चट्याङ पर्छ । राति ८ बजेसम्म चट्याङ सक्रिय रहन्छ। ‘तराई भूभागमा बढीजसो राति नै चट्याङ पर्छ, घर बाहिरका काम बिहानको समयमा गरेर दिउँसो घरभित्रै सुरक्षित बस्नुपर्छ, यसो गर्दा ज्यान जोगिन्छ,’ उनले बच्ने उपाय सुझाए ।

‘अब बन्ने घरमा चट्याङबाट जोगिने प्रविधि जडान गर्नुपर्छ’

गाउँमा घरभित्रै बस्दा पनि सुरक्षित नदेखिएकाले अब सुरक्षित घर बनाउनुपर्ने चट्याङविज्ञ शर्माको सरकार र सर्वसाधारणलाई सुझाव छ । ‘सरकारले चट्याङको पूर्वअनुमान जानकारी दिने अहिले उपकरण पाइन्छ, ती उपकरण विभिन्न ठाउँमा जडान गरेर विभिन्न सञ्चारमाध्यममार्फत जानकारी दिनुपर्छ,’ उनले सरकारलाई सुझाए ।

स्थानीय सरकारमार्फत भने अब बनाउने घर भूकम्पीय हिसाबले मात्र नभई चट्याङबाट समेत जोगिने प्रविधि पनि जडान गरेर निर्माण गर्न लगाउनुपर्ने उनको माग छ । उनले भने, ‘प्रविधि भन्नाले सामान्यतया सके तामा, नसके जिआई, आलमुनियम प्रयोग गरेर घर बनाउनुपर्छ, प्राविधिक तालिम दिनुपर्छ। यसो गर्दा धेरै हदसम्म चट्याङबाट ज्यान बच्छ ।’

प्राधिकरणका अनुसार चट्याङ पर्न लाग्दा अन्य विभिन्न सुरक्षित उपाय अपनाउन सकिन्छ। बाहिर हुँदा बिजुली चम्केका वेला वा पानी परेका वेला रूखमुनि ओत नलाग्ने, बिजुलीको खम्बामुनि नबस्ने, छाता नओढ्ने, पौडी नखेल्ने, डुंगा नचलाउने । चट्याङ पर्दा सुरक्षित ठाउँ नपाए दुवै हात टाउकोमाथि राखी निहुरिएर टाउकोलाई दुई घुँडाको बीचमा राख्नुपर्छ ।

Akshar Rekha

Akshar Rekha is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker